विदेशबाट अवैध ४० करोड ल्याएका शाहको अदालतलाई जवाफः बेरोजगार र ऋणमा छु, श्रीमतीलाई अंश दिने हैसियत छैन

अमेरिकाबाट अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागिपरेका र ६ वटा कम्पनी खोली विदेशमा व्यापार गरेको दाबी गरेका पृथ्वीबहादुर शाहले श्रीमतीसँगको अंश मुद्दामा अपत्यारिलो जवाफ दिएको फेला परेको छ।
अन्तर्राष्ट्रिय स्तरमा आफ्नो करोडौँको व्यापार व्यवसाय रहेको र त्यसैबाट आर्जित रकम नेपाल ल्याउन लागिएको दाबी गरेका शाहले पारिवारिक मुद्दामा भने अदालतलाई ढाँटेको पाइएको हो।
शाहले अमेरिकाबाट अवैधानिक रुपमा ४० करोड रुपैयाँ भित्र्याउन खोज्दा अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारीको कुर्सी हल्लिएको छ।
श्रीमती सुनिताले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा शाहले आफू ऋणमा डुबेको र बेरोजगार भएकाले श्रीमतीको भरण पोषणका लागि कुनै भरथेग गर्न नसक्ने लिखित जवाफ पेश गरेका छन्।
अछामको बान्नीगढी जयगढ स्थायी घर भएका पृथ्वीबहादुर शाहको २०७४ साल फागुनमा त्यसै भेगकी सुनिता शाहीसँग विवाह भएको थियो। विवाहपछि काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा घर बनाएर बसेका शाही र पृथ्वीबीचको परिवारिक जीवन एक वर्ष पनि राम्रोसँग टिक्न सकेन।
सम्पन्न परिवारकी सुनिताले वैवाहिक जीवन अघि बढ्न नसक्ने देखेपछि काठमाडौँमा जिल्ला अदालतमा २०७५ मा अंश चलन मुद्दा दायर गरिन्। उनले शाहबाट आफूले अंश पाउनुपर्ने दाबी गरे पनि अहिलेसम्म उक्त मुद्दाको छिनोफानो भएको छैन।
सामान्यतया: जिल्ला अदालतले १८ महिनाभित्र मुद्दा छिन्ने गरे पनि शाहसँग सम्बन्धित मुद्दा चार वर्ष भइसक्दासमेत फैसला हुने अवस्थामा पुगेको छैन। सुनितानिकट पारिवारिक स्रोतका अनुसार उनले आर्थिक चलखेलबाट अदालतलाई समेत प्रभावित पारेका छन्।
१८ महिनाभित्र फैसला भइसक्नुपर्ने मुद्दा अस्वभाविक रुपमा लम्बिएको छ। शाहले गत भदौ १३ गते काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ‘आर्थिक हैसियत खुलाएको’ विवरणमा कोरोनाका कारण आफ्ना सबै व्यापार व्यवसाय बन्द रहेको, बेरोजगार हुँदा ऋणमा डुबेको उल्लेख गरेका छन्।
काठमाडौँ जिल्ला अदालतले २०७५ चैत २६ गते नै उनलाई आफ्नो सम्पत्ति विवरण पेश गर्न आदेश दिए पनि त्यसको हदम्याद गुजारेर बसेका शाहले गैरकानुनी रुपमा कोरोना महामारीका बेला दिइएको सुविधालाई प्रयोग गरेर ‘आर्थिक हैसियत खुलाएको’ विवरण पेश गरेको प्राप्त कागजातले देखाउँछ।
शाहले आफूले काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा रहेको जग्गा र त्यसमा बनेको पक्की घर धितो राखेर कम्पनीको नाममबाट विभिन्न बैंकबाट ७ करोड ३० लाख ऋण लिएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘विभिन्न साथी भाइहरुसँग लिएको कर्जा तिर्न बुझाउन सकेको छैन। म प्रतिवादीको नाममा विभिन्न कम्पनी दर्ता रहेको भए तापनि सो कम्पनी विगत लामो समय देखिको कोभिड–१९ को कारणले पूर्ण रुपमा बन्द रहेको म प्रतिवादीको अन्य आयस्रोत तथा रोजगार समेत छैन।’
स्रोतका अनुसार सुनिताको माइती पक्षबाट शाहले नगद, गरगहनासमेत गरेर तीन करोड भन्दा बढी दाइजो स्वरुप लगेका छन्।
उच्च पदमा रहेका सुनिताको माइती पक्षका एक व्यक्तिले भने, ‘उसले विवाहअघि नै सुनिताको आमाबाट ४३ तोला सुन लगेछ। विवाहमा दुलहन फर्काउन आउँदा ५० लाख रुपैयाँ मागेको रहेछ। उनका बुबाले चेकमार्फत पाँच लाख दिएछन्। त्यसपछि पनि उसले विभिन्न बहाना बनाएर पैसा लगेछ। त्यतिको फ्रड मान्छे हामीले देखेका छैनौँ।’
राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरण विभागले गरेको अनुसन्धानअनुसार उनले दर्ता गरेका कम्पनीहरु व्यवसायिक प्रयोजनका लागि भन्दा पनि आर्थिक चलखेल गर्नका खडा गरिएको स्रोतको दाबी छ।
शाहले माउण्ड कैलाश इनर्जी लिमिटेड, वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेण्ड प्रा.लि., वल्र्ड एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रा.लि, वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि नामका कम्पनी खडा गरेका छन्।
ती कम्पनीमार्फत शाहले विभिन्न देशबाट अवैध रुपमा रकम नेपाल ल्याउने गरेका छन्। उनी भारतीय मुद्रा अपचलनमा अदालतबाट दोषी ठहर भएका व्यक्ति समेत हुन्।
अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) शाहले नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको बताउँदै छानबिन गरेर फिर्ता पठाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्यो। फिनसेनको आग्रहपछि राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले रकम रोक्का राखी छानबिन गरिरहेकै बेला अर्थमन्त्री शर्माले क्षेत्राधिकार बाहिर गएर गर्भनर अधिकारीलाई पत्र लेख्दै रकम छोड्न निर्देशन थिए।
तर गर्भनर अधिकारीले अर्थमन्त्रीको पत्र राष्ट्रबैंकको स्वायत्तता विपरीत रहेको भन्दै अवज्ञा गरे र अर्थमन्त्रीको गैरकानुनी पत्र सार्वजनिक गरिदिए। त्यसैको झोँकमा सरकारले चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा विवादस्पद तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
सरकारको निर्णयविरुद्ध अधिकारीको दिएको रिट निवेदनमा सुनुवाइ गर्दै वैशाख ६ गते सर्वोच्च अदालतले निलम्बन कार्यान्वन नगर्न र उनलाई काममा फर्किन दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
अदालतको उक्त आदेशपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेको छ। अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्नेबारे छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई वैशाख १३ गते बोलाएको छ।
एउटै घर जग्गा धितो राखेर तीन बैंकबाट ऋण
पृथ्वीबहादुर शाहले चाबहिलमा रहेको एउटै घरजग्गा धितो राखेर गैरकानुनी रुपमा तीनवटा बैंक तथा सहकारीबाट ऋण लिएको खुलाएका छन्। कानुन अनुसार एउटा धितोबाट एउटा मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भए पनि शाहले भने तीनवटा संस्थाबाट ऋण लिएको अदालतमा बुझाएको ‘आर्थिक हैसियत खुलाएको’ विवरणमा उल्लेख गरेका छन्।
उनले कामनपा –७ मा रहेको कित्ता नम्बर २२४ र २२६ नम्बरको जग्गामा बनेको पक्की घर राखेर प्राइम बैंक, कुमारी बैंक र सम्झना बहुमुखी सहकारी संस्थाबाट सात करोड ३० लाख ऋण लिएको उल्लेख गरेका छन्।
उनले अदालतमा पेश गरेको जवाफमा भनेका छन्, ‘प्रतिवादीमध्ये म पृथ्वी बहादुर शाहको नाममा दर्ता श्रेस्ता रहेको का.जि.का.म.न.पा. वडा नं. ७ स्थित कि.नं. २२४ क्षे फ ०–०–३–० जग्गा कित्ता १ र ऐ. ऐ. कि.न.। २२६ को क्षे.फ. ०–३–३–० जग्गा कित्ता (१ समेत २ कित्ता जग्गा र सो जग्गामा बनेको पक्की घर समेत साविक कैलाश विकास बैंक लि. हाल मर्ज भई प्राइम बैंक लि. मा धितो राखी वल्र्ड एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रा.लि.ऋणी भई मिति २०७४।५।१० म व्यापारी प्रयोजनका लागि कर्जा रकम रु ३,००,००,०००(तीन करोड रुपैयाँ) रहेको छ । त्यस्तै साविक देव विकास बैंक हाल मर्ज भई कुमारी बैंक लि. को रु ३,००,००,००० (तीन करोड) कर्जा रहेको छ त्यसैगरी सम्झना बहुमुखी सहकारी संस्थाक रु १,३०,००,००० भन्दा बढी कर्जा रहेको छ। त्यस्तै विभिन्न साथीभाईहरुसँग लिएको कर्जा तिर्न बुझाउन सकेको छैन। म प्रतिवादीको नाममा विभिन्न कम्पनी दर्ता रहेको भए तापनि सो कम्पनी विगत लामो समय देखिको कोभिड–१९ को कारणले पूर्ण रुपमा बन्द रहेको म प्रतिवादी अन्य आयस्रोत तथा रोजगार समेत छैन।’
Source:deshsanchar