काठमाडौं ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि पार्टी एकता जोगाउनुपर्नेमा संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पनि पार्टीमा धेरै विवाद उत्पन्न गराएको उनले बताए । तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई पराजित गर्ने काम होला भनेर आफूले कहिल्यै नसोचेको गौतमले बताए । ‘गएको ८/९ महिनादेखि मैले आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ,’ उनले अघि भने, ‘पार्टीमा आरोप प्रत्यारोपसहितका पत्रअरु राख्दा पनि मैले यो सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेको थिएँ । तर यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । ५ गते प्रस्ताव जान्छ भन्ने मलाई थाहा थिएन ।’
प्रधानमन्त्री ओलीले ‘अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्न खोजिए दुर्भाग्यपूर्ण हुनेछ’ भन्ने गरेको भए पनि संसद भंग गर्दा आफूलाई नसोधेको उनको गुनासो छ ।
‘मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ,’ उनले भने, ‘पार्टी जोगाउनका निम्तिमा अन्तिम पटक पनि उहाँसँग अवसर थियो । अविश्वानसको प्रस्ताव लगिरहेका छन् भन्ने थाहा पाएपछि मैले सोचेँ, म त्यो ठाउँमा भएको भए अविश्वानसको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थेँ । त्यसले मैले मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्र्यो र, एउटा उदाहरण प्रस्तुत हुन्थ्यो ।’
त्यहीकारण आफूले संसद विघटनलाई सर्मथन नगरेको र असंवैधानिक कदम भनेको उनले बताए । यो मुद्दा संवैधानिक इजलासमा विचाराधीन भएकाले असंवैधानिक भन्नु सर्वोच्च अदालतको राजनीतिक रुपमा अपमान हुने भएकाले मौन बसेको बतााए ।