सिन्धुपाल्चोक।
ताम्बा काइतेन व्हाइ रिमठिमका लेखक तथा तामाङ संस्कृतिका मर्मज्ञ कर्णेल सन्तवीर लामाको १२४औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताह व्यापी भर्चुअल तामाङ रैथाने फापारे गायन प्रतियोगीता’ सम्पन्न भएको छ । मंसिर ८ देखि १४ गतेसम्म सन्चालन भएको प्रतियोगिता तामाङ डाजाङ र तामाङ न्हाङखोरले सप्ताह व्यापी रुपमा कोरोना भइरसका कारण जुम मार्फत प्रतियोगिताको आयोजना गरिएको थियो ।
संगीतवद्ध गीतले गर्दा पछिल्लो समयमा मौलिक फापारे गीत लोप हुँदै गएको, पछिल्लो समयमा गाउने नयाँ पुस्ता पनि न्यून रहेको अवस्थामा कुनैपनि संघ,संस्थाले संरक्षणमा ध्यान नदिएको हुँदा यसको संरक्षण र सम्वद्र्धन संगै गीत गाउने कलाकारहरुको प्रोत्सहनका लागि आयोजना गरेको कार्यक्रमका संयोजक भाषाविद् अमृत योन्जनले बताए । प्रतियोगितामा प्रेम घिसिड, पिडखुरी, रामेछाप र मेलिना योन्जन, वाफल, सिन्धुपाल्चोकको टोली प्रथम भएका छन् । त्यसैगरी जम्दार थिङ (सर्लाही) र विविमाई स्याङतान (रौतहट)को टोली दोस्रो, बिनोद घिसिड सिन्धुपाल्चोक र कविता थोकोर, भेडपु, दोलखाको टोली तेस्रो भएका छन् भने श्याम योन्जन, ठुलोधादिङ, सिन्धुपाल्चोक र लक्ष्मी गोले, काभ्रेको टोलीले सान्त्वना पुरस्कार जितेका छन् ।
विजेता सबै कलाकारहरुलाई मंसिर १५ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेका छन् । पुरस्कार स्वरुप प्रथमलाई नगद रु.२०,०००।– दोस्रोलाई नगद रु.१४,०००।– तेस्रोलाई रु.१०,०००।– र सान्त्वनालाई रु.६,०००।– नगद सहित प्रमाण पत्र निर्णयक मण्डलका संयोजक डा.मुक्तसिं लामाले वितरण गरे । सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सर्लाही, रौतहट, सिन्धुली गरी ११ वटा समुहका ४४ जना कलाकारले प्रतियोगितामा भाग लिएको तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जनले बताएका छन ।