कोरोना भाइरस र यसले निमत्याउने सम्भावित चुनौती

Share

उत्तम विक

कोरोना भाइरस भनेर चिनिने कोभिड-१९को संक्रमण यतिबेला विश्वव्यापी रुपमा फैलिएको छ । गत वर्षको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको यो भाइरस विश्वका दुई सय भन्दा बढी मुलुकमा पुगिसकेको छ । यो सामाग्री तयार पार्दासम्म कोरोनाका कारण झण्डै डेड लाख मानिस मरिसकेका छन् भने २२ लाख भन्दा बढी संक्रमित भएका छन् ।

विश्वसामू चुनौतीका रुपमा फैलिएको यो भाइरसका कारण मर्नेको संख्य दिनानुदिन बढदो छ, जसका कारण जनमानसमा आतंक फैलिएको छ । विश्वका शक्तिशाली राष्ट्रहरु समेत आक्रान्त बनेका छन । यो भाइरसको हालसम्म कुनै औषधि र खोप पत्ता लागेको छैन । त्यसकारण यसबाट बच्ने एउटै मात्र उपाय भनेको संक्रमित मानिसबाट टाढा रहनु नै हो ।

कोरोना भाइरस एक प्रकारको छिटो सर्ने रोग हो । यसको संक्रमण रोक्न हाल बिभिन्न देशहरुले जस्तै नेपालले पनि सिङ्गो मुलुक लकडाउन गरेको छ । २०७६ चैत्र १० गते देखि घोषणा गरिएको लकडाउन तेस्रो पटक थपगरी आगामी बैशाख १५ गते सम्म पुर्याइएको छ । अहिलेसम्मको अवस्था हेर्दा नेपाल महामारीको प्रारम्भिक चरणमै छ । तथापि ढुक्क हुने अवस्था भने छैन । किनभने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमयुक्त मुलुकका रुपमा सूचिकृत गरेको छ । साथै छिमेकी मुलुक भारतमा कोरोना संक्रमण डढेलो झैँ फैलिएकाले पनि उच्च सतर्कता अपनाउन नसके कुनैपनि बेला महामारी हामीतिर सर्नसक्ने खतरा छ ।

 नेपालमा अहिलेसम्म जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये एकजना उपचारपछि सामान्य अवस्थामा फर्किसकेका छन् । बाँकी २९ जनाको बिभिन्न अस्पतामा उपचार भईरहेको स्वास्थ्य बिभागले जनाएको छ । तथापि उनीहरुको अवस्था सामान्य नै रहेको बताइएको छ । तथ्यांकले जे भनेपनि तिब्र रुपमा फैलिने यो भाइरसको संक्रमणले कुनैपनि बेला हामीलाई चुनौती दिनसक्ने देखिन्छ । उच्च सतर्कता अपनाउदा अपनाउँदै पनि संक्रमण विस्तार भए हामीसामू चुनौतीको सामना गर्नुको अर्को विकल्प हुने छैन । जुन निकै भयावह हुने सहजै आंकलन गर्न सकिन्छ ।

 दुनियाका निकै शक्तिशाली मानिएका र स्वास्थ्य सेवामा उच्च पहुँच भएका मुलकहरु समेत त्राहिमाम बनेको अवस्थामा नेपालमा महामारी फैलियो भने के होला ? कल्पना मात्रै गर्दा पनि जिउ सिरिङ्ग हुन्छ । त्यसैले यो महामारीबाट बच्न अहिले लागू गरिएको लकडाउनको उच्चतम परिपालना गर्नु नै एकमात्र उपाय हो । लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दैनन् र आवतजावत नहुँदा भाइरस फैलिन पाउदैन । जसका कारण धेरै मानिसहरु सुरक्षित हुन्छन् । संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर लकडाउन गरिनु जायज कदम भएपनि गरिब, निमुखा र दैनिक ज्यालादारी गरि बिहान-बेलुकीको छाक टार्ने मजदुरहरुको लागी बिषेश राहातको व्यवस्था पनि संगसंगै गरिनुपर्छ । किनभने रोगले बाँचेर भोकले मर्ने अवस्था आयो भने त्यो झन् अकल्पनीय हुनसक्छ । त्यसतर्फ राज्यको ध्यान पुग्नु जरुरी छ ।

 लकडाउनका कारण अहिले धेरै मजदुरहरु समस्यामा परेका छन् । उनीहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्छ । लकडाउन सफल बनाउन खटिएका सुरक्षा निकायका केही सुरक्षकर्मीहरुले पैदलयात्रीलाई अमानवीय व्यावहार गरेका घटना सार्वजनिक भैरहेका छन् । अति आवश्यक काममा निस्किएका पैदलयात्री तथा सवारी साधनहरुलाई दु:ख दिएका घटनाहरु सामाजिक सञ्जालहरुमाफर्त आइरहेका छन् । यस्ता क्रियाकलापहरु गलत हुन् । सुरक्षा निकायको काम सुरक्षा दिनु हो । तसर्थ आपतमा परेकाहरुलाई सुरक्षित तरिकाले निश्चित गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउनु बढी बैज्ञानिक र बस्तुनिष्ठ हुनसक्छ । यसोभन्दा सबै बाहिर निस्के भने के होला ? त्यसतर्फ पनि संवेदनशील बन्नैपर्छ । अत्यावश्यक कामबाहेक लकडाउन उल्लङ्घन गर्नेगरी बाहिर निस्कनेलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसका लागि सुरक्षा निकायलाई आम सर्वसाधारणले पनि सहयोग पुर्याउन आवश्यक हुन्छ । सबैको आपसी सहयोग, सहकार्य र बलियो समन्वय हुनसके मात्रै संक्रमणको सम्भावित जोखिमलाई सजिलै परास्त गर्न सकिन्छ । नेपाल सरकार र सम्बन्धित निकायले राम्रो व्यवस्थापन गर्न नसके संक्रमणले बिकराल रुप लिने निश्चित छ । चेतनाको अभाव र लापरबाहीले धेरै मानिसहरु संक्रमित हुन सक्छन् । यस्तो जटिल अवस्थामा राज्यले ठोस योजना ल्याउनु पर्छ ।

 उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलगायतलाई साथमा लिएर खटाउने हो भने पनि धेरै हदसम्म संक्रमणबाट बचाउन सकिन्छ । कोरोनाको विश्वव्यापी महामारीका कारण बैदेशिक रोजगारीमा गएका धेरै नेपाली कामदारहरुको रोजगार गुम्ने खतरा छ । त्यस्तो अवस्थामा धेरै नेपालीहरु स्वदेश फर्किन सक्छन् । एकातिर बिदेशबाट नेपाली कामदार नेपाल फर्किदा नेपालमा बेरोजगारीको संख्या बढ्छ भने अर्कोतर्फ बिदेशबाट नेपाल भित्रिने रेमिटेन्स पनि घट्छ, जसका कारण मुलुकको अर्थतन्त्रमा नराम्रो असर पर्छ । देशको अर्थतन्त्रमा गिरावट आउनु, बेरोजगारी बढनुले झन अर्को बिकारल अवस्था निम्त्याउन सक्छ । फलस्वरूप महंगी, लुटपाट, हत्या, हिंसा जस्ता जघन्य अपराधहरु बढ्ने देखिन्छ । त्यसतर्फ नेपाल सरकार तथा सम्बन्धित निकाय बेलैमा सचेत हुन आवश्यक छ । हाल नेपालभित्रै रहेका थोरै मजदुरको व्यवस्थापन गर्न नसकेका बेला बिदेशमा रहेका थोरै मात्र कामदार नेपाल फर्किए नेपालको हालत के होला? कल्पना पनि गर्न सकिंदैन । त्यसैले कोरोना भाइरसले उत्पन्न गरेको चुनौतीको सामना गर्न नेपाल सरकार र सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्छ ।

 अन्तमा, कोरोना भाइरसको यो चुनौतीसंग लडन लकडाउन गरेर घरभित्रै बसौं भनेर मात्रै हुनेवाला छैन । यस्तै समस्या केही महिना कायम रह्यो भने रोगले हैन भोक र शोकले देशमा हाहाकार मच्चिन सक्छ । राज्य रोगसँग मात्र होइन भोक र शोकसंग लड्नका लागि पनि तयारी अवस्थामा रहनुपर्छ । त्यसैले उपत्याकाबाट बाहिर जान चाहानेहरुका लागी उनीहरुको स्वास्थ्य परीक्षण गरि सम्बन्धित स्थानीय तहसंगको समन्वयमा तोकिएको क्वारेन्टाईनमा रहने गरि निश्चित गन्तव्यसम्म पुर्याउने व्यवस्था गरौं । कुनैपनि व्यक्ति अलपत्र परेर पीडित बन्न नपरोस् । राज्यले उच्च सतर्कताका साथ आफ्ना नागरिकको जिउ-धनको सुरक्षा गर्ने वातावरण निर्माण गरोस् । कोरोना भाइरसलाई परास्त गर्न सके मात्र बाँचिने छ, अहिले बाँच्नकै लागि संघर्ष गरौँ । बाँचियो भने कमाउला अनि रमाउला! सबैले लकडाउनको पालना गरौं । आफू बाँचौं अरुलाई पनि बचाऔं । नयाँ वर्ष २०७७ को सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.