समुदाय-प्रहरी साझेदारी सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

Share

खेमराज खनाल

काठमाडौं, १९ वैशाख

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा कार्यरत प्रहरी अधिकृतहरुलाई यसको अवधारणा र कार्यान्वयन सम्बन्धमा अभिमूखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय-प्रहरी साझेदारी अवधारणा, औचित्य, साझेदारीका आधारहरु, विद्यालय सम्पर्क कार्यक्रमको औचित्य लगायतका विषयमा प्रकाश पार्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रही स्थानीय तहमा रहेका स्रोत साधनको प्रयोग गरी स्थानीय तहको सुरक्षाको लागि थप प्रभावकारी ढंगले काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल प्रहरी विधिको शासनमा चल्ने संगठन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले न्याय निरुपणको लागि प्रहरीले पारदर्शि रुपमा काम गर्नुपर्ने चर्चा गर्नुभयो । प्रहरीले गरेका हरेक कामबारे समुदायलाई सुसूचित गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले बलियो सूचनाको आधार भनेकै सार्वसाधारण भएकाले कुनैपनि अपराधिक क्रियाकलापको विषयमा सूचना प्राप्त गर्न ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत समन्वय गरी काम गर्न समेत प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । साना त्रुटीबाट पनि समाजमा प्रतिष्ठा गुम्नेतर्फ सचेत पार्दै उहाँले प्रहरीले काम गर्ने क्रममा त्रुटी बिना सहि तरिकाले गर्नुपर्ने समेत बताउनु भयो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/ सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीले अभिमूखिकरणको उद्देश्य, समस्याको पहिचान र भावी कार्यदिशा बारेमा कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले सहभागी प्रहरी अधिकृतहरुले राखेका जिज्ञासाको निरुपण समेत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक सबिन प्रधानले समुदाय-प्रहरी साझेदारी अवधारणा कार्यान्वयनको प्रारुपबारे तथा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले अवधारणा र प्रहरी कार्यमा यसको उपयोगिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

शुभारम्भको ६ महिनाभित्र नै उक्त अवधारणा अनुरुप देशभर करिब १९ हजार ३५ साझेदारी समितिहरु निर्माण भई उल्लेख्य रुपमा प्रहरी र समुदायको साझेदारीका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । यस अवधारणाको अनिवार्यतालाई अझ सशक्त रुपमा कार्यान्वयन गर्नको लागि सुपरीवेक्षण र व्यवस्थापकीय भूमिकामा रहने प्रहरी अधिकृतहरुलाई अभिमूखिकरण गर्ने नीति अनुसार अभिमुखिकरण संचालन गरिएको हो |

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.