उत्तम अधिकारी, १ डिसेम्बर, यूएई – यूएईको अल ऐनमा कार्यरत गोरखा फुजेल ३ का स्थायी बासिन्दा कृष्ण प्रसाद पोखरेलको गत शनिवार ओछ्यानमा आराम गरिरहेको अबस्थामा मृत्यु भएको छ ।
अन्दाजी ३३ बर्षिय पोखरेलको शनिवार मध्यान्ह आफ्नै ओछ्यानमा मृत्यु भएको हो । नाइट ड्युटी भएका पोखरले शनिवार ड्युटी सकिएपछी अर्का एकजना नेपाली साथीसंग किनमेलका लागि अल ऐन सिटि पुगेका थिए । किनलेम सकेर बिहान १०:३० बजे कम्पनि निवासमा पुगेका उनको सोहि दिन मध्यान्ह मृत्यु भएको हो ।
मोबाइलमा कुरा गर्दै आफ्नो कोठा छिरेका पोखरेललाई कम्पनिमा संगै काम गर्ने नेल्सन ड्युटी ब्रेक भएर मध्यान्ह १ बजे रूममा आउदा असामान्य भेटेपछी कम्पनीका हेल्थ एण्ड सेफ्टी अफिसरलाई खबर गरेका थिए । प्रत्यक्षदर्शी नेल्सनले प्रहरीलाई दिएको बयान अनुसार मृतक पोखरेल आफ्नो बेडमा सिरानीमा अडेस लागेर कानमा मोबाइलको हेड फोन लगाई हातले मोबाइल च्यापेको अबस्थामा थिए । कम्पनीका अफिसरले खबर गरे पश्चात अस्पताल लैजान आइपुगेको एम्बुलेन्स टिमले झन्डै २० मिनेट पोखरेलको परिक्षण गरे पश्चात उनको मृत्यु भइसकेको जनाएपछी मात्रै उनले प्राण त्यागेको थाहा भएको हो ।
घटना लगत्तै आएको प्रहरीले मृतक पोखरेलको मृत शरीरलाई अल ऐनको जिमी अस्पताल पुर्याएको थियो । हाल मृतकको शव सोहि अस्पतालमा रहेको छ । उक्त अस्पतालले शव परिक्षण पश्चात पोखरेलको मृत्यु प्राकृतिक (नेचुरल डेथ) भएको रिपोर्ट प्रहरीलाई दिएको छ । घटनालाई नजिकबाट नियालिरहेका समाजसेवी गोबिन्द ढकालले पोखरेलको मृत्यु पछिका सम्पूर्ण प्रकृयामा प्रत्यक्ष संलग्न रही सहजता प्रदान गर्दै आइरहेका छन् । नेपाल बिश्व सहयोग संघका मध्यपूर्व संयोजक समेत रहेका ढकालका अनुसार प्रहरीले अनुसन्धान पश्चात मृतकको कम्पनीलाई रिपोर्ट दिइसकेको छ ।
मंगलवारबाट यूएईमा ५ दिन लगातार बिदा परेकाले मृतकको शव नेपाल पठाउन कम्तिमा एकसाता लाग्ने अनुमान गरिएको छ ।
पोखरेल बैदेशिक रोजगारीका लागि ३ बर्ष अघि यूएई आएका थिए । एक छोरा र एक छोरीकी पिता रहेका उनि माब (MAB) क्याटरिङ कम्पनीमा चपाती मेकरको रुपमा कार्यरत थिए । कम्पनिले सम्पूर्ण प्रकृया पुरा गरी आवस्यक कागजातका लागि चाडै नेपाली राजदूतावास आबुधाबी जाने बताएको ढकालले जानकारी दिएका छन् ।
गोरखा फुजेलका मेरो सानीमाको माइलो छोरा तथा भाइ श्री कृष्ण पोखरेलको यही मिति २०७२ मङ्सिर १२ गते तदअनुसार २८ नाृेभेम्बर २०१५ शनीबार दिउसो यूएई अल ऐनमा असामयिक निधन भएको खबरले हाम्रो सम्पूर्ण परिवार स्तब्ध भएका छौँ । यस दुःखद घडीमा स्वर्गीय भाइको आत्माको शान्तिको कामना गर्दै परमेश्वरसँग प्रार्थना गर्दछौँ साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
कृष्ण पन्त परिवार