एकचोटी सानो भएर माग्दैमा अरु चिज त पाइँदैन तर केटी चाहिं किन माग्ने बित्तिकै पाइन्छ ?

Share

aruna adhikari

अरुणा अधिकारी(विराटनगर)
फेसबुक हिजोआज सबैभन्दा सजिलो र छिटो संचार माध्यम बनेको छ । बच्चाहरु आमाको पेटबाट धर्तीमा पाइला टेक्दा नटेक्दै फेसबुकका भित्ताहरुमा छरपस्ट भइ सकेका हुन्छन् । बालकदेखि वृद्धसम्म, साक्षरदेखि शिक्षित, विद्यार्थीदेखि शिक्षकसम्म, पत्रकारदेखि कलाकारसम्म, डक्टरदेखि पाइलटसम्म सबैकोे जीवनशैली बनेको छ फेसबुक । सबै त्यसमै व्यस्त देखिन्छन् । हरेक वर्ग, समूह, क्षेत्र र पेसाधारीको अभिन्न अंग जो बनेको छ फेसबुक । आफ्नो त झन् उमरै यस्तो भन्दा नि फरक नपर्ला ।

कुरो गत फागुन १९ गतेको हो । सधैंझै म फेसबुकमा साथीहरुसँग च्याट गर्न, स्ट्याटसमा कमेन्ट गर्न नै व्यस्त थिएँ । मेरी बहिनी दिलिसा फेसबुकमा टुप्लुक्क देखापरी । च्याट गर्नुभन्दा अगाडि आफुले कुरा गर्न चाहेको व्यक्ति फुर्सदमा छ या छैन भन्ने थाहा पाउन हाई भन्दै मेरो इनबक्समा आईन् । दिलिसा मेरो मामाकी छोरी हुन् । मैले पनि आफु फुर्सदमा रहेको अझ भनौं उनीसँग कुरा गर्न तयार भएको सङ्केत स्वरुप हाई के छ तिम्रो खबर ? लेखी पठाएँं । ठिकै छ हजुरको के छ नि ?उनले रिप्लाई गरिन् । मेरो नि ठिकै छ भनी सक्दानसक्दै उनले सोधिन् त्यता त विवाह आयो अरे नि ? कस्को होउ ? म अलि अनभिज्ञ हुँदै सोधेँ । मुस्कान दिदीको उनले भनिन् । मैले फेरि सोधे कस्ले भनेको ? हिजो साइमन दादाले फोन गर्नु भाको थियो, २२ गते अरे त उनले भनिन् । त्यसो भए होला हामीलाई थाहा भएन भनेँ । किनकि साइमन र मुस्कान दिदीभाइ हुन् । अनि उनीहरु मेरा सानिमाका छोराछोरी । नभएको भए त साइमनले किन झुट बोल्थ्यो र ? मिलेको अनुहार, लामो कपाल गहुँगोरो वर्ण भएकी सबैसँग मिलनसार तथा बीएड अध्ययनरत मुस्कानको विवाह हुनु कुनै नौलो कुरा थिएन तर केही पत्तो नै नपाई यति छिटो विवाहको कुराले भने छक्क परेँ म । हतार हतार ममीलाई पनि सुनाएँ । ममीले पनि ए हो र ? के फोन गरेका थिए र ? भन्नु भयो । मैले काठमाण्डौंबाट साइमनले गरेको थियो,२२ गतेको विवाह अरे भनेपछि ए, त्यसो भए गिफ्ट त किनी पो हाल्नु पर्ने भए छ त भन्नु भयो ।

दिउँसो यताउता गर्दैमा बित्यो । ४.३० बजेतिर हाम्रो घर छेउमै बास भएकी बिनिता सानिमा आउनुभयो र यो वर्ष कसैको पनि विवाह खान पाइएन भनेको त आयो अरे त विवाह भन्नु भयो । अँ, मैले नि त्यस्तै सुनेको थिएँ । दिलिसाले भन्दै थिइन् । तपाईलाई फोन गरे ? सानिमालाई मैले प्रश्न तर्साएँ । अँ, अघि दिउँसो जोगबनी जाने बेलामा अलि कति पैसा पुगेन छ र साइमनले गरेको थियो भन्नुभयो । पल्लो घरमा गफ गरिरहनु भएकी ममी आउनु भएपछि सानिमाले फेरि विहे आयो अरे भनेको नि भन्नुभयो । जवाफमा ममीले पनि खै अघि यो पनि त्यसै भन्दै थिई, हामीलाई त निम्तो आको छैन । निम्तो नै त मलाई नि आको छैन आइहाल्छ नि बरु जाने पो कहिले हो २१ कि २२ ? सानिमाको जिज्ञासा भुइँमा खस्न नपाउँदै मैले जवाफ दिएँ, त्यो बोलाई अनुसार हुन्छ नि । २१ गते नै आउनु काम सघाउनुपर्छ भन्नुभयो भने मर्दापर्दाकै लागि चाहिने हुन आफन्त, २१ गते नै जानु पर्छ । होइन भने भीडमाथि भीड हुन मात्रै किन जानु ? टाढाका पाहुना कति आउनुभाको हुन्छ । हामी त २२ गते नै जाँदा पनि भ्याइहाल्छौ नि । सानिमाले पनि मेरो कुरामा सहमति जनाउनुभयो ।

नभन्दै बेलुका निम्ता पनि आयो । २१ गते नै आउनु भनियो । फेरि २०गते फेसबुकमा बेहुलीकी बहिनी रेजिनाले तपाई भोलि नै आउनु है भन्न फोन गरेको थिएँ तर तपाईको मोबाइल स्वीच अफ थियो भनिन् । मैले आफ्नो मोबाइलमा ब्याट्री नटिकेर स्वीच अफ भइरहन्छ भन्ने थाहा हुँदाहुँदै मेरो मोबाइल त २४ घण्टा अन हुन्छ भनें । रेजिनाले कसम होला दिदी अघि गर्दा त्यसै भन्यो भनेपछि मेरो बोल्ने ठाउँ रहेन र होलामा कुरा सिध्याएँ । भोलिपल्ट बिनिता सानिमासँग सल्लाह गरेर उहाँ र म त्यही दिन खानासाना खाएर जाने कुरो भयो । ममी र बुबा भने २२ गते नै जाने पारिवारिक सहमति भयो । सानोबुवा आफ्नै काम विशेषले अस्तिदेखि उतै हुनुहुन्थ्यो ।

खासै कहीँ नहिड्ने मैले आज हिँड्न पाउने खुसीले खाना पनि कम खाएँछु क्यारे । बिहे घरमा पुग्दा नपुग्दै भोक लाग्यो । पुग्ने बित्तिकै भोक लाग्यो भन्न पनि नमिल्ने । केही किनेर खाउँन त भन्दा पसल पनि नजिकै थिएन । त्यसैले म डल्लो पर्दै बसेँ । बेहुलीलाइ बधाई दिएँ । के कसो हो सोधखोज गरेर उनको कोठाबाट बाहिरिएँ । बरण्डामा निस्किदा कान्छी बहिनी सुलोचनाले ए अरुणा दिदी आइसक्नु भएछ, भन्दै खुसी व्यक्त गरिन् अनि सँगसँगै मेरो फेसबुक स्ट्याटसको तारिफ गर्न नि पछि परिनन् । साँच्चै भन्ने हो भने दिदी म त तपाईको फेसबुक स्ट्याटसको फ्यानै भईसकें नि उनले मेरो स्ट्याटसको मुक्तकण्ठले प्रसंसा गरिन् । भित्र रहेकी मुस्कानले पनि मलाई पनि अरुणा दि’को स्ट्याटस मन पर्छ भन्दै हामीतिर आइन् । मैले ए, हो र ? भन्दै हाँसेर धन्यवाद दिएँ सबैलाई ।

मेरो स्टयाटसले छुनेहरु पनि रहेछन भन्ने खुसीले अरुले देख्दा २ खुट्टा भुइँमै भए पनि वास्तवमा खुसीले म हावामा उडिरहेकी चरीभैंm भएकीे थिएँ । फेरि सुलोचनाले मेरो र लेखक कृष्ण अविरल सरसँगको भेटघाटको प्रसंग निकालिन् । अरुले सेलिब्रेटीहरुसँगको भेटघाट र काल्पनिक कुराको त कति गफ दिन्छन् भने मेरो त भएकै कुरा अरुलाई किन नसुनाउने भनेर मैले पनि हल्का गफ हान्दिएँ । मुस्कानले बोलाई भित्र आएर भन्नु न भनी कर गर्न थाली । भित्र कोठा भने माला गाँस्ने र हेर्नेहरुले भरिएको थियो । बोलाई सकेपछि जानै परो । उनले अविरल सरसँग भेटघाटकै प्रसंग सुन्न चाहिन् । मैले अविरलसरको फेसबुक पेजमा उहाँको भर्खरै प्रकाशित सनसनीपूर्ण उपन्यास रक्तबीजको कमेन्ट गरेपछि उहाँले नै आफ्नो आइडीबाट फेन्ड रिक्वेस्ट पठाउनु भएको, उहाँले नै फोनमा कुरा गर्न चाहनुभएको अनि लालचुँडीको वाचन अच्युत घिमिरेको आवाजमा श्रृतिसंवेगमा सुन्दै गरेको जानकारी फेसबुक माफर्त गराएपछि उहाँले नै कन्ट्याक गरेर कस्तो लाग्यो लालचुँडी ?

म एउटा जेन्स भएर लेडिजहरुको भावना लेख्न सकेँ कि सकिनँ ? भनेर सोध्नु भएकोले मैले पनि एकदम राम्ररी लेख्न सक्नुभएको छ, जे हो त्यही लेख्नु भएको छ, भन्दै म हाँसें अनि उहाँ पनि हाँस्नुभयो । अनि फेरी सोध्नुभयो, तपाई पनि त्यस्तै ज्योतिको भूमिकामा हो ? भनी सोध्नुभएको प्रसंग मैले बहिनीलाई धाराप्रपाह रुपमा सुनाइरहे । त्यस्तै त्यस्तै हो भन्दै म एक हातको मेलो हाँसि दिएको थिए भरे त ऊसले पनि सुरुचिपूर्वक सुनिरही । श्रुति संवेगको अन्तर्वार्तामा अविरल सरले मलाई स्मरण गरेको पनि जानकारी गराउदा बहिनी मुस्कानले त्यो एपिसोड नै सुन्न छुट्ेकोमा थक्कथक्क मानिन् । मैले पनि अरुलाई विश्वास दिलाउने मौका भटेको किन छोडथेँ र । सुन्ने भए मैले रेकर्ड गरेको छु नि । मुस्कानले उत्साही त हुँदै खै सुनाउनु न भनिन् । तिमीलाई मात्रै सुनाउँछु भनेँ किनकि त्यहाँ सबैलाई इन्टे«स नहुन सक्छ । मुस्कानले पनि सहमति जनाइन् । मैले फेरि भने अविरल सरले फेसबुक स्ट्याटस भनेको मानिसहरुको अन्तरमनको प्रतिविम्ब हो रे, मैले तपाईको फेसबुक स्ट्याटसमा तपाईमा पनि लेख्न सक्ने खुबी देखेको छु लेख्नु भन्दै हुनुन्थ्यो तर मलाई फेसबुक स्ट्याटस लेख्न मात्रै आउँछ भनेपछि मुस्कानले तपाई उहाँको सम्पर्कमै रहिरहनुहोला, कुनै दिन उहाँको सहयोगको आवश्यकता पर्न सक्छ ।

म पनि एउटा उपन्यास लेख्न थालेकी थिएँ तर सबैले जिस्क्याएर लेख्नै दिएनन् अनि छोडिदिएँ भनिन् । मैले उनलाई मोटिभेट गर्ने मान्छेको कमी भएको महसुस गरेँ अनि भने यदि तिमीमा लेख्न सक्छु भन्ने आँट छ, लेख्न इन्ट्रेस छ भने लेख । अविरल सरले मेरो नाम एफ.एम.मा लिएपछि फेसबुक फ्रेन्ड बन्नु भएको एक जना पत्रकार हुनुहुन्छ । उहाँले पनि तपाई लेख्नुहुन्छ भने म हेल्प गर्छु भन्नु भएको जानकारी गराउँदै बहिनी मुस्कानलाई पनि लेखनमा पे्ररित गर्न खोजें । कति ठाउँमा म आफैले पनि महसुुस गरेकी छु कि कसैले तिमी यो काम गर्न सक्छौ भने गर मैले गर्न सक्ने हेल्प गर्छु भनिदिँदा मात्र पनि संसारै जित्न सक्ने आँट आउँछ । त्यसै मैले पनि उनलाई तिमी अब लेख, मिडिया र प्रकाशकसम्म तिम्रो पहुँच पुराउने काम मेरो भयो । मैले यति भनि रहँदा त्यो कोठामा भएका सबैले जना मान्छे हेर्दा यस्ती नपत्याउँदी छे कति बोलेकी ? कुरा पनि गतिलै गर्छे, भएकै कुरा गर्दै छे कि हावा गफ लाउँदै छे ? यस्तालाई कस्ले हेल्प गर्ला र ? त्यति ठूला अनि बौद्धिक व्यक्तित्वसम्मको पहुँच यसको कहाँ पुग्ला र ? भन्ने भावमा हेरिरहेका थिए ।

मुस्कानले भने आफ्नो ओठमा नाम अनुसारकै मुस्कान ल्याउँदै त्यसो भए अब म लेख्छु । कत्ति दिनदेखि मेरो मुड अफ भइराखेको थियो । आज तपाईसँग कुरा गरेर कस्तो फ्रेस भएको र ऊजा भरिएझै भएकी छु भनिन् । म त गफमै भुलेछु । हाम्रालागि नास्ता तयार भइसकेछ । भोक लागेको बेला राम्रै पनि भयो । सबै जना मिलेर नास्ता गरियो । बिहे घरमा कसार बटार्ने दिन पाहुनाहरुको चहलपहत हुने नै भयो । घरका सबै जना भोलि बेहुलीलाई दिने सामानदेखि लिएर आवश्यक अन्य सामानहरुको जोडजाम्मै व्यस्त देखिन्थे । भाँडा माझ्नेले धोका दिएका कारण कलभरि अटिनअटी भाँडाहरु थुप्रिएका थिए । कोहीकोही कसार बटार्न व्यस्त थिए । अरु कोहीचाहिँ हासिरहेका भाँडाकुँडा देखेकोनदेखेझैं गरी आ आफ्नै गफमा व्यस्त थिए । भाउजूलाई पाहुनाहरुको स्वागत गर्नदेखि लिएर कुन सामान कहाँ छ, किचनमा केके बनाउनु पर्ने सबै काम र कुराको भ्याईनभ्याई थियो ।

मलाई भने हाँसिरहेका भाँडाकुँडा देख्दा लाग्यो कि अब यो भाँडा पनि भाउजुले नै माझनु पर्ने होला । भाउजु पनि हामी जस्तै मान्छे हो । उहाँ पनि गल्नुहुन्छ, थकाइ लाग्छ भन्ने लागेर त्यो भाँडा सफा गरिदिन मन लाग्यो । तर भाँडा यति धेरै छ म एक्लैलाई त २ दिन लाग्ला भन्ने लागेर अब अर्को कस्लाई बोलाऊ भनेर सम्झेँ । कान्छी छोरी भएर होला सायद सुलोचनाले कहिल्यै केही गरेको देखेकै छुइनँ मैले । एक दिन कुनै सानो काम गरिन् भने ३ महिनासम्म मैले अस्ति त्यो काम गरेको भन्नलाई पुग्छ । बाबुआमाले नै काम नलगाएकी छोरीलाई मैले कामै लगाउने आँट गरिनँ । यसो भित्र हेरेको रेजिना बसिरहेकी रहिछन् अनि रेजिना बिचरा भाउजुलाई पनि भ्याई नभ्याई छ, आउन तिमी र म भएर भाँडा माझांै भनी आग्रह गरें । उनले पनि तत्काल स्वीकृति जनाइन् । हामी २ जना भाँडा सफा गर्दै थियौँ । भाउजु कलमा आउनु भएछ पानी लिन । अनि मलाई भाँडा माझेको देखेर गाली गर्नुभयो । म पनि जवाफ दिन के कम ? यता नि नगर उता नि नगर भन्नु हुन्छ । हैन तपाईलाई एउटा बिहे एक्लै उतार्छु जस्तो लाग्छ कि के हो भाउजु ? भनेकी थिएँ भाउजु हाँस्दै भित्र जानुभयो ।

आफ्नो कर्तव्य पूरा गर्न कहिँकतै नचुक्ने हाम्री भाउजु यहाँ पनि चुक्नुभएन भन्ने सोचेँ मैले । रेजिनाले सुलोचनाको बानी व्यवहारप्रति केही असन्तुष्टि व्यक्त गर्दै थिइन् । सँधै यसरी नै जीवन निर्वाह नहोला ? भविष्यमा उनलाई नै समस्या हुन्छ, भन्दा नराम्रो हुन्छ भने हामी के गर्न सक्छांै त भनेर मैले रेजिनालाई सम्झाएँ । अँ हो त्यो त भन्दै सहमति जनाइन् । गफ गर्दा गर्दै काम पनि सकियो । भाउजुले खाना पनि तयार गरिसक्नु भएछ । सबै जनाले खाइ सकेपछि रेजिना, भाउजु र मैले पनि खाना खायौं । विवाहको बेला कत्राकत्रा बिल्डिङवालाहरुका घरमा त पाहुना अटाउँदैनन् । हामी मध्यमवर्गीय परिवारमा त सबै जना आफ्नै घरमा त अटाउने कुरै भएन । अनि छरछिमेकमा सुत्ने प्रबन्ध मिलाइएको थियो । तर धेरै जसो आफन्तहरुले घरमै सुत्ने मनसाय व्यक्त गरेपछि बिनिता सानिमा र मलाई उहाँकी देउरानीले आफ्नो घरमा बोलाउनुभयो । जुन घर त्यहाँबाट नजिकै थियो । म सहमत भएकी थिए तर रेजिनाले अरुणा दिदी कहीँ जानुहुन्न भनिन् । फेरि भित्रदेखि बेहुली बोलिन्  अरुणा दिदी र म सुत्छांै । मैले भने अघि तारा आन्टीलाई आउँछु भनेकी थिएँ ।

उनीहरुले अरु नै कसैलाई पठाउने प्रबन्ध मिलाए । बाहिर तारा आन्टी पर्खेर बसिरहुनु भएको थियो । मैले उहाँलाई आफु नजाने बताएँ तर तारा आन्टीसँग पनि मेरो राम्रै सम्बन्ध भएका कारण उहाँ सकेसम्म मलाई नै लग्न जोड गरिरहनु भएको थियोे । सबैसँग मिलनसार हुदाँ पनि कहिले काहीँ गाह्रौ पर्दो रहेछ । यता जाऊँ कि उता जाऊँ । तै पनि म घरमै बसेँ । लाखापाखा लाग्ने त लागि हाले । घरमै हुनेहरु पनि प्राय सबै सुतिसकेका थिए । भाउजु भने अझ पनि टुसुक्क बस्न भ्याउनु भएको थिएन । हामी सघाउन थाल्यौँ । सबै काम सकेर लगभग ११.३० तिर हामी पनि सुत्यौं ।

भोलिपल्ट म बिहुँजिदा सानिमा,सानोबुबा, साइमन र भाउजु अघि कतिखेर उठेर धेरै काम गरिसक्नु भएको रहेछ । हामी पनि उठ्यौँ । विवाह मन्दिरबाट भएकाले साइमनले सबै सामान सुँगुुरे रिक्सा नामले चिनिने रिक्सामा हालेर रिक्सा आफै चलाइ ऊ मन्दिरतिर लाग्यो । बिहान ७ बजेतिर ठुलोबुबाको छोरा दाइलाई बोलाएर बेहुलीलाई पनि बाइकमा राखि मन्दिर लगियो । उनीहरुसँगै म पनि जाने भएँ । नजिकै भएकाले अरु सबै जना भने हिँड्दै आउने भए । सबै जना मन्दिर पुगेपछि पुरुषहरु सबै त्यहाँ आवश्यक व्यवस्था मिलाउन लागि परे । महिलाहरुले पहिले बेहुली श्रृंगारे अनि ऊ भन्दा ऊ राम्री हुँदै श्रृंगारिन थाले । मलाई भने श्रृंगार पटारमा खासै इन्टे«स नभएकाले म घरमै रेडी भइ सकेकी थिएँ । अब त्यहाँ दर्शकमात्र थिएँ । त्यसैले सबैलाई विचार गर्न भ्याए“, मन्दिरको एउटा कोठा एक से एक राम्रीहरुले भरिएको थियो । बेहुली कुन हुन् ? भनेर छुट्याउन घुम्टोकै सहारा लिनुपथ्र्यो । किनकि बेहुली भन्दा अरु केटीहरु पनि कोही कम थिएनन् ।

लगभग ११ बजे तिर जन्ती आए । आउ“न बाँकी अरु आफन्तहरु पनि आइ सकेका थिए । बेहुला हेर्नेको घुइँचो लाग्यो । विवाह साह्रै रमाइलो भयो । पुरोहित जो थिए, उनी त हाँस्य कलाकार जतिकै खपिस रहेछन्, मान्छे हँसाउन । बेहुलालाई २,३ विवाह गरिसकेको मान्छेसँग त एक्सपेरिएन्स हुनु पर्ने त ? कत्ति नजानेको भन्छन् कहिले । कहिले पोहोर सिन्धुपाल्चोकमा जसरी गरेको थियो त्यसरी गर न, विवाहको विधि एउटै हो भन्छन् । घरी जेठीसँग डिभोर्स गर्दाको खर्च अझै तिरेनौ, अब त बाँकी पैसा दिन्छौ होला नि भनेर सबैलाई रमाइलो वातावरण सिर्जना गर्दै विवाह विधि सम्पन्न गरे । प्रहरीमा कार्यरत बेहुला पनि जवाफ फर्काउन के कम ? हामीलाई भने पेट मिचिमिचि हाँस्नको दास्ती । विवाहको विधि सम्पन्न हुन लागेपछि सामानहरु गाडीमा राखियो । ५ दिनमै सम्पन्न गरिएको विवाह भए पनि एउटा घरमा आवश्यक प्राय सबै सामानहरु दिइएको थियो ।

बेहुली अन्माउँदा सानी भदैनीले ‘मुस्कान दिदीलाई लगिहाले नि’ भन्दै भाँडभैलो गरिन् । उनको रुवाइले गर्दा कसैले आफुलाई रोक्न सकेनन् । सबैका आँखा आँसुले टिलपिल भए । धेरै आफन्तहरु पनि फर्किए । हामीलाई भने घर शून्ने हुन्छ भनेर फर्किन दिनुभएन । त्यसैले मन्दिरका सामानहरु त्यहीं जिम्मा लगाएर घरका सामान बोक्दै सबै जना घर आयौँ ।

यो मान्छेको जातले सबैभन्दा बढी गर्ने काम नै सायद खानु हो । घर आएपछि फेरी बेलुकाको लागि खाना भाउजुले तयार गर्नुृभयो । खाना साना खाइसकेर सबै जना गफ गरेर बसी रहेको बेला विबाहका लागि केटा पक्षले ‘केटी माग्ने’ कुराको प्रसंग निस्कियो । अनि मैले खासमा यो ‘केटी माग्ने’ भन्ने शब्द नै ठिक छैन भनेँ । ‘हो एकदम ठिक’ भन्दै बहिनी सुलोचनाले सहमति जनाइन् । म सँगै बसिरहेको भाई साइमन बोल्यो ‘ठिक छैन भने तिमीहरु २ जना चाहीँ जाओ न त केटा माग्न’ भनी सबैलाई हास्न बाध्य पार्यो । परिवारमा हाँसो घन्कियो अनि मैले फेरी भनँे ‘मागेको कुराको कसैले जतन गर्छ ? त्यसैले हामी महिलालाई पनि सम्मान गर्दैनन् धेरै पुरुषहरु । उनीहरुको शारीरिक आवश्यकता पूरा गर्ने र सन्तान उत्पादन गर्ने साधनको रुपमा मात्रै लिन्छन महिलालाई ।

’ सबै जना हाम्रो कुरा खुब चाख दिएर सुनिरहनु भएको थियो । पहाडबाट आउनु भएको सानोबुवा बोल्नुभयो, ’सृष्टि चलाउनका लागि पनि केटी माग्नै पर्छ । केटी नमाग्ने हो भने सृष्टि नै चल्दैन ।‘ अनि मैले भनेँ, ‘किन चल्दैन सृष्टि । त्यो माग्ने भन्ने शब्दको सट्टा सम्बन्ध गाँस्ने, जोड्ने वा अरु कुनै शब्द प्रयोग गर्दा हुँदैन ? कम्तिमा दुबैको समान महत्व त झल्किन्छ । यदि केटी माग्ने भन्ने शब्द हटाउँदै सृष्टि चल्दैन भने नचलोस् ।’ मेरो तर्कप्रति सबै अवाक भए । फेरि अर्को सानोबुवाले भन्नुभयो, ‘सानो भएर माग्नु त राम्रै हो नि ।’ मैले भने, ‘एकचोटी सानो भएर माग्दैमा अरु चिज त पाइँदैन तर केटी चाहि“ किन माग्ने बित्तिकै पाइन्छ ? के हाम्रो चाहि“ केही अस्तित्वै छैन ? मैले यति भनिरहँदा बहिनी सुलोचना मेरो सपोर्ट गर्दै थिइन । अरु सबै पुरुष जति एकतिर हुनुहुन्थ्यो । उहाँहरुले भन्नु भयो, ‘मुखै फोडेर मागिसके पछि जे पनि पाइन्छ नि ।’ मैले प्रतिवाद गरें, ‘कहाँ जे पनि पाइन्छ ? कसैले तपाईंसँग सुनचाँदी, कुनै बहुमुल्य चिज, यो घर मध्ये केही माग्यो भने दिनु हुन्छ ?’ सानोबुवाहरुले, ‘अहँ त्यो त दिइँदैन’ भन्नुभयो । ‘त्यसो भए छोरीचाहिँ किन माग्नेलाई दिनु हुन्छ ?’ त्यो पनि टन्न गरगहना, दाइजोका सामान सहित‘ मैले प्रतिप्रश्न गरेँ । बिनिता सानिमा बोल्नुभयो, ‘छोरी त बेचेको जस्तो पो हु“दो रहेछ त नि ।’ फेरि मैले भनेंं, ‘बेचेको पनि होइन, बेचेको हुनलाई त केटाले टन्न सम्पति दिन्थ्यो नि । यहाँ त केटीका बाबुआमाले दिनुपर्छ । डम्पिङ साइटमा फ्याँक्न तयार पारेको फोहोर अरुले फालिदिए बापत पैसा दिए जसरी । के हाम्रो अस्तित्व नै छैन ? हामी डम्पिङ साइटमा फाँक्न तयार पारिएको फोहोरै हौँ त ?’ मेरो सबै कुरा सुनेर भाइ साइमनले भन्यो, ‘होइनौ भने मैले अघि नै भनी सकेँ नि जाओ न त अब तिमीहरु चाहि“ केटा माग्न ?’

मैले थपें, ‘यदि केटाहरुलाई जस्तै पहिलेदेखि केटीहरु ठुलो भए पछि केटा माग्न जानुपर्छ भन्ने सिकाएको भए, दिमागमा त्यहि भरिदिएको भए सक्थ्यिौ हामीपनि तर किन सिकाएनन् पुर्खाहरुले ?’ साइमनलाईल मेरो प्रश्न भारी लाग्यो सायद । उसले फेरि भन्यो, ‘तपाईलाई मैले सिकाउने हो त ? मैले भने, ‘तिमीले होइन तिम्रा बाउआमाले सिकाउने, मेरा बाउआमाले सिकाउने । उसका बुवाममी ,मेरी ममी लगायत अरु धेरै हाम्रो कुरा चाखलेर सुनिरहनु भएको थियो । साइमनले ६ महिनाकी आफ्नी भान्जी काखमा सुताइ रहेको थियो । मैले त्यो सानी बच्चीतर्फ देखाउँदै भनें, ‘तिमी यसलाई अहिलेदेखि नै यो गर्न हुन्छ त्यो गर्न हुँदैन, यहाँ जा, त्यहाँ नजा भनेर नसिकाऊँ । केटाहरुले के के गर्छन् त्यहि त्यहि गर्न सिकाऊ , भोलिपर्सी केटा माग्न जानु पर्छ भन्ने कुरा पनि दिमागमा भरिदेऊ अनि यो केटा माग्न गइनछ भने मलाई भन ।’

सबै जना हाँस्नुभयो । साइमान पनि हाँस्यो । बहिनी सुलोचनाले फेरि थपिन्, ‘बाउआमा नि केटा माग्न सँगै जानुपर्छ ।’ फेरि मैले थपेँ, ‘अँ केटाका बाउआमा केटी हेर्न आए जस्तै उमेर पुगेपछि केटीका बाउआमाले केटा हेर्न जानु पर्छ । अनि केटीहरु केटा माग्न जाने वातावरण बन्छ तर यसका लागि समाजमा अलि समय लाग्न सक्छ ।’ मैले साइमनतिर हेर्दै भनेँ, ‘अरु भन्नु केही छ तिम्रो ?’ ऊ मरीमरी हाँस्दै भन्यो, छैन दिदी केही छैन’ लेखक कृष्ण अविरलको त साथी, अनि हामी जस्ताले के डिस्कस् गर्न सकिन्छ र ?’ फेरि कोठामा हाँसो गुन्जियो । पहाडबाट आउनु भएको सानोबुवा बोल्नु भयो, ‘केटा माग्न जाने चलन चलाउँछौ भने पनि म त खुसी नै हुन्छु है ।’ बिनिता सानिमाले फेरि शंका प्रकट गर्नुभयो, ‘भिनाजुले पनि केटा माग्ने चलन आए त छोराहरुलाई बुहारीले लगिहाल्छन्, एउटा ज्वाईँ पाल्दा भइहाल्छ भनेर आँट गर्नु भए जस्तो छ किनकि वहा“की त एउट्र छे छोरी ।’ फेरि हाँसो गन्जियो ।

यसो घडी हेर्दा १० पनि बजि सकेछ । सबै जनालाई सुत्न नै हतार भयो । एकैछिनमा घरमा मान्छे नै नभए जस्तो सुनसान भयो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.