माईभ्याली गोल्डकपमा आर्मी सेमीफाइनल प्रवेश

Share

राम योङ्हाङ,इलाम,१८ माघ ।

इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा झापा–११ लाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा झापालाई १–० को झिानो अन्तरले पराजित गर्दै आर्मीले सेमी फाइनलको यात्रा पक्का गरेको हो ।

आर्मीका टंक बस्नेतले खेलको १६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । बस्नेतले विपक्षीको डिबक्सभित्र खेलाडीलाई छक्याउँदै गरेको सामान्य प्रहारले जाली चुमेको थियो । खेलको शुरुवातदेखि नै आक्रामक शैलीमा उत्रिएका दुबै टिमको खेल अन्तिम समयसम्म घम्साघम्सी र रोचक रहेको थियो । इलामे दर्शकको बढी समर्थन पाएपनि झापाका कुनै पनि खेलाडीले गोल फर्काउन सकेनन् ।

झापाका खेलाडीले दुई पटक गरेको सुन्दर प्रहार गोलपोष्टमा ठोकिएर फर्किएपछि आर्मीसँगको जम्काभेट झापाका लागि यस पटक पनि हारको संकेत बनेर देखियो । फिजिकल्ली रुपमा आर्मीका खेलाडी बढी सशक्त देखिए पनि आईतबारको खेलमा झापा–११ का खेलाडीले फिनिसिङ्गको कौशल देखाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । खेलमा झापा–११ का नरेन्द्रमणि लिम्बू म्यान अफ दि म्यान घोषित भए ।

यसअघि झापा–११ र आर्मीको भेट पथरी गोल्डकप र राष्ट्रिय लिगमा प्रतिद्वन्द्वीको रुपमा भएको थियो। ती दुवै खेलमा आर्मीले झापालाई हराएको थियो। माइभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले डेढ लाख रुपैंयाँ नगद पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.