८ माघमा संबिधान जारी नहुनुको कारक एमाओबादी

Share

काठमाडौँ, माघ ५ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ मा संविधान नआउने पक्का भएको बताएका छन् । माओवादीले अवरोध गरेकाले माघ ८ मा नयाँ संविधान दिन नसकिने अवस्था आएको ओलीले बताए ।

राजधानीमा सोमबार गरिएको वृहत्त कार्यकर्ता भेलालार्इ सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान जारी हुन नसक्ने भएकाले कांग्रेस नेतृत्वको सरकार पनि यथावत रहने बताएको अन्नपूर्ण पोस्टले छापेको छ । ‘संविधान ल्याउन हामीले गरेको निरन्तरको प्रयास सफल हुन सकेन’, अध्यक्ष ओलीले भने, ‘सहमति गर्ने नाममा माओवादीले उल्टै हामीलार्इ झुलाउने काम गर्‍यो । संवाद समितिमा माओवादी नै सभापति हुँदा पनि केही काम गर्न सकेन ।’

अध्यक्ष ओलीले संवोधनका क्रममा यही सरकार माघ ८ पछि पनि यथावत रहेर संविधान जारी गर्ने दाबी गरे । उनले केही महिना लगाएर संविधान जारी गरिने बताएपनि मिति भने उल्लेख गरेनन् ।झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमाथि उठेको विवादबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले ती जिल्लाबारेमा अन्यत्रका मानिसले अनावाश्यक चासो राखेकोमा आक्रोश ब्यक्त गरे ।

मधेसवादी दलसहितका केही दलहरुले एमालेलार्इ जनजाति र मधेस विरोधीका रुपमा प्रचार गरेर कम्जोर बनाउने खेल गरिरहेको जिकिर गरे ।

‘अहिले एमालेलार्इ कम्जोर बनाउन ठूलो शक्ति लागेको छ । एमालेलार्इ कम्जोर बनाएर संविधानसभालार्इ पनि असफल बनाउने खेल भइरहेको छ’, अध्यक्ष ओलीले भने,  ‘विचार सिद्दान्त केही नभएका समूह मधेसीका नाममा जात ठूलो भन्दै हिँडेका छन्’, अध्यक्ष ओलीले भने ‘जनजाति र मधेसी सभासदलार्इ उचालेर एमाले र संविधानसभाविरुद्द प्रयोग गर्ने खेल भइरहेको छ ।’

मधेसवादी नेताहरुको रबैयाप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले केही मधेसवादी नेताहरु कसैको इशारामा चलेर उनीहरुलार्इ नै खुसी पार्न लागिरहेको दाबी गरे । मधेसवादी नेताहरुप्रति इंगित गर्दै अध्यक्ष ओलीले उनीहरु आफूलार्इ मधेसको ठेकेदार ठानेर मधेस-पहाड अलग्याउने अतिवादी नारा लगाउँदै हिँडिरहेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.