विश्वासको मूल्य

Share
– अर्जुन दाहाल “अपवाद”
फोन कराएपछि निन्द्रा खुल्यो । लाग्यो विहान भईसकेछ । अलार्म बन्द गर्न मोबाईल तानें । अर्लाम हैन, फोन रहेछ ।
“दाई कता हुनुहुन्छ ?”
आवाज चिनेको जस्तो लाग्यो । ठम्याउन सकिन । नम्बर सेभ गरिएको रहेनछ ।
“किन र म त चरिकोट नै हो ।”
नचिनेको नम्बर भएपनि मैले जवाफ दिएँ । मध्यरातमा कस्ले फोन ग¥यो ? के का लागि हो ? आवाज अलि आँत्तिएजस्तै सुनिएको थियो ।
“दाई तपाँईले चिन्नुभएन, म कृष्ण क्या ।”
मनमा थुप्रै कृष्णका तस्विरहरु सल्बलाए । खुट्याउन सकिन ।
“क्या तपाँई त । अस्ति त्यो सिंगटीको आमैसँग सातदोबाटोमा भेट्या हैन ।”
“ए, ए, अनि किन यत्ति राती फोन ग¥यौ त बाबु ।”
“काम छ दाई, अहिले तपाँईको कोठामा आउँछु । अनि सबै कुरा गरौला न है ।”
अरु कुरा सोध्न खोज्दै थिएँ । फोन काटियो । कलव्याक गर्न खोजेको मोबाईलमा ब्यालेन्स रै’नछ । ‘हैन यत्ति राती मेरो कोठामा किन आउन खोज्दैछ उ ? किन अहिले नै भेट्नुपर्ने ?’ मस्त निन्द्राबाट ब्युँझिएपछि फेरी निन्द्रा परेन ।
कृष्ण सिंगटीमा व्यापार गर्छ । कमाई राम्रै छ भन्थ्यो बेलाबेला । उत्तरी क्षेत्रमा कुनै घटना हुँदा उसले आफैं फोन गरेर सुचना दिन्छ । सिंगटीतिर गएको बेला उसलाई भेटेर मात्रै फर्कने गर्छु । चरिकोट आँउदा प्राय फोन गर्छ । मिलेसम्म भेटेरै फर्कन्छ । बानीव्यहोरा पनि राम्रै लाग्छ मलाई ।
समाचार संकलनका लागि सिंगटी जाँदा उसको र मेरो पहिलो भेट भएको थियो । त्यसपछि आज पाँचौं वर्षसम्म उसको र मेरो मित्रता कायम छ । रेडियो कार्यक्रम उत्पादनका लागि सिंगटी जाँदा मैले उसको आवाज रेर्कड गरेर ल्याएको थिएँ । उसको आवाज राखेर रिपोर्ट तथा कार्यक्रम बनाएको थिएँ । रेडियोबाट आवाज सुनेपछि गाँउमा उसको धेरै प्रचारप्रसार भएको थियो रे । उसले पछि भेट्दा सुनाएको थियो । भनेको थियो “रेडियोमा आवाज बजेपछि धेरैले रेडियोकै बारेमा सोधेका थे । उत्तर दिन अप्ठ्यारो पो भो त !”
चरिकोटमा भेट भएपछि प्राय हामी बेकरीमा चिया खान्थ्यौं । पैसा उसैले तिथ्र्यो । मैले तिर्न खोज्दा हुन्न भन्थ्यो ।
गेट चलाएको आवाज आयो । उ आईपुगेछ । यत्ति राती खोलौं कि नखोलौं । अघि नै काठमाण्डु छु भन्नुपर्ने रहेछ । मन अन्यौल भएर आयो । अप्ठ्यारो मान्दामान्दै उठेर गेट खोल्न गएँ ।
औशी पक्षको रात । निष्पट्ट अँध्यारो थियो । मोबाईलको मधुरो टर्च बालेर आएको रहेछ । एक्लै थियो ।
“तिमीलाई मेरो कोठा थाहा थियो र ?”
“अस्ति आ’ हैन तपाँईसँै । खाना नि खा’र गाको । दाईले विर्सनुभ’छ ।” साविक झै यसपटक उ हाँसेन ।
“अनि किन यत्ति राती ।”
“दाई कुरा बसेरै गरौला न ।”
उ मेरा पछिपछि लाग्यो । म कोठामा छिरें । उ पनि छि¥यो । बत्ति बाल्न खोजेको लाईन रैनछ । मैनबत्ति खोज्न लागेको भेटिन ।
“भैगो दाई, किन चाहियो र उज्यालो । आज अँध्यारैमा बस्न मन छ ।” उ छामछुम गर्दै मेरो ओच्छ्यानमा बस्यो ।
उसको सास छिटोछिटो चलिरहेको थियो । सासमा रक्सीको गन्ध आईरहेको थियो ।
“तिमी रक्सी नि खान्थ्यौ ?” मलाई अचम्म लाग्यो । यसअघि उसले रक्सी खाएको मलाई थाहा थिएन ।
“आजसम्म खा’थिंन दाई । आजै हो खा’को ।”
“किन, के भो र ?”
“कुरा अलि लामै छ दाई । पैला पानी खाउँ न । कस्तो च्यापच्याप भयो ।”
“अघि फोन काँबाट ग¥या नि ?”
मैले उसको मोबाईल लिएँ । टर्च बालें । त्यसैको उज्यालोमा पानी सारेर दिएँ । जगभरको पानी उसले एकै पटकमा सिद्ध्यायो ।
“दोलखा बजारमा आईपुग्या थें । त्यीँबाट हो ।” उसले मोबाईलमा हे¥यो । “२० मिनेटमै आईएछ ।”
“यस्तो हतारो किन नि ? कसैलाई केही भो की ?”
“मैलाई भो नी । उ एकछिन रोकियो ।”
रक्सी खाएको मान्छे । मध्यरातमा कोठामा आउँछ । रीता भएकै बेला आएको भए उनले के सोच्दी हुन । धन्न आज दिउँसो गाँउ गएकी थिईन र यस्तो देख्नु परेन । मलाई उप्रति रिसरिस उठेर आयो ।
“हुन त बजारमा अरु आफन्त नि थिए । सधैं बस्ने होटलले नि ढोका खोलिदिन्थ्यो । तपैं नै मनले आफ्नो ठान्यो र आ‘को दाई ।”
म बोलिनँ । उसले फेरी आफ्नो मोबाईल हे¥यो ।
“पहिला ४ घण्टामा आईपुग्थें । आज ३ घण्टा नि लागेन्च । रोटले बाटो बिगारेच र । नत्र अलि छिटो आईपुग्थें ।”
मैले उसको कुरा केहि बुझेको थिईन । यस्ताको नि संगत गर्नुपर्छ । मलाई आफ्नो पेसा सम्झँदा सम्भवत पहिलोपटक दिक्क लागेर आयो ।
ओच्छ्यान चिसो भईसकेको थियो । “दाई मलाई जाडो भो । तपाँईको सिरक ओड्छु है ।”
उसको अवस्था देख्दा मलाई बोल्न मन लागेको थिएन । बोलिन । नबोल्दा भित्ताको घडीको आवाज प्रष्टसँग सुनिन्थ्यो । कति बजेको थियो कुन्नी अँध्यारोमा देखिएन । उसले मोबाईल हेरेर भन्यो, “मध्यरात हुन लागेछ ।”
“दाई किन नबोल्नु भा ?”
“तिम्रो कुरा सुन्दैछु नि त ।”
“त्यही भ’र त तपाँईकोमा आ’ नि । आज मैले ठूलो काम गरेर आ छु दाई । सुन्ने हो ?”
“भन न पैला ..”
“मेरो पसलको पल्लापटी बस्ने त्यो मास्टर थ्यो नि । सिकुटे सिकुटे ।”
“अँ, अँ, क्याम्पस पढाउने हैन । लादुकतिरको हो क्यारे ।”
“दाईले चिन्नुहुँदो र’च । त्यही हो । साले .. मेरै हातबाट मर्न लेखेको र’च त्यल्लाई ।”
“हँ । तिम्ले मान्छे मा¥यौ ?”, मलाई जिउ लगलग काँपेजस्तो अनुभव भयो ।
“परिबन्दमा परेपछि पर्दोरैछ दाई । चरा नि मारेको थिंन । मलाई जिन्दगीमा कहिल्यै भाग्यमा विश्वास लागेन । लेखेको कुरा के मेटिन्थ्यो र ?..” उसको आवाज विस्तारै मलिन भयो ।
“के गर्नु दाई मान्छेको सक्कली रुप चिनिँदो रै’नच । मखुण्डोलाई मान्छे भन्दार’चौं । छोरी नदि ज्वाई चिनिदैंन भन्थे हो रच ।” आवाज सुन्दा उ रोएको जस्तो लाग्यो ।
“मारीहाल्नु चैं हुन्न थ्यो नि बाबु, जेजस्तै भए पनि । के भो र त्यस्तो ?”
“के भन्नु र दाई । ठूलो ठूलै हुँदोर’च । उ ठुलो मान्छे । क्याम्पस पढाउने मान्छे । हामीजस्ता अन्यामा पर्दा पनि उसकै पक्षमा लाग्दार’चन सबैजना ।”
“तिमारु दूईटाको त खुब मिल्ती थ्यो त पोर म जाँदा हैन ?”
“होऽऽ, बिगार्ने नि आफ्नै ठान्नेले त हो र’च नी ? आफ्नो भनेर विश्वास गरेको, वल्लो घाट न पल्लो तिर बनाईदियो ।
उसको फोन बज्यो । उसले उठाएन । केहीबेर बजिरह्यो । स्वर धेरै चर्को लाग्यो । फोन बज्न छाडेपछि उसले स्विच अफ ग¥यो । यत्ति राती फोन गर्ने प्रहरी होला । पच्छ्याउदै आएको पो छ कि ? मनमा आशंका उब्जियो तर भनिन ।
“कुरा के भने नी,” उसले लामो श्वास फे¥यो । “मेरो व्यापार राम्रै चलेकै थ्यो । एकदिन माष्टरले पसलमा आर भन्यो सबै विदेश गा’छन । तिमी के २, ४ रुप्याँको व्यापार गरेर बस्छौ । गर्मीमा पिल्सिएर काम गर्नुभन्दा त यहीं राम्रो भनेर मैले उसको प्रस्ताव अस्विकार गरें । कहाँ खाडी जाने भनेको हो त जापान जाने भन्या नी उसले कुरा लम्ब्यायो । जापान भनेपछि त मलाई पनि विदेश जान मन लाग्यो । एउटा साथी पनि जापान थियो । पैसा राम्रै कमाएर पठाको थ्यो । राम्रै मान्छे छान्न सके जापान राम्रै हुँदो र’च उसले मलाई फोन गर्दा भनेको थ्यो ।
जापान जान उसले ५ लाख खर्च लाग्ने बतायो । मैले पसल गरेर जोगाको २ लाख दिएँ । बाँकी पैसा ऋण गरेर बुझाएँ । प्रशासनमा आ’र पासपोर्ट नि बनाएँ । पैसा सबै बुझा’को १ महिनाभीत्र जापान उडिन्छ भनेको थ्यो उल्ले । अरु कागज पनि मिलाउन पर्च । एक लाख लाग्छ भन्यो । मैले त्यो पनि दिएँ ।
दाई मूख सुक्यो पानी खाउँ न ।” मैले जगमा पानी दिएँ । उसले कलकल पियो ।
“पैसा लिएपछि उसको व्यवहार पहिलाभन्दा फरक हुन लाग्यो । पसलमा आउनेक्रम पातलिन थाल्यो । भेट्दा काम हुँदै छ भन्थ्यो । ४ महिना वित्यो । छिमेकीहरु, पसलमा आउने ग्राहक किन विदेश नगएको भन्थे । म काम हुँदै छ भन्थें । व्याजको टाउको दूखाई अर्कातीर छँदै थियो ।
एकदिन भेटेर भने । तिमीले काम नगर्ने भयौ । अब पैसा फिर्ता देउ ।
पैसा फिर्ता हुन सम्भव छैन । काम अन्तिम चरणमा पुगेको छ ।
मैले स्थानिय भद्रभलाद्मी राखेर कुरा गर्न खोजें । छलफलमा आँउछु भन्यो आएन ।
मैले उसलाई धम्की दिएको हल्ला बजारमा सुनिन लाग्यो । पसलमा आउनेहरु के होे भनेर सोध्न लागे । म अचम्ममा परें । एक दिन क्याम्पसमा बोलाए । पुगेपछि अरु माष्टरले भने ‘तिमी त सोझै जस्तो लाग्थ्यो । अब पाखुरी बलिया भएछन ।’ मैले कुरा बुझिन । उनिहरुले भने ‘कमल सरलाई ज्यानकै धम्की दियौ रे । राम्रा माष्टर । छोडे भने क्याम्पसलाई नि असर गर्छ । जेल जाउला है ।’ मैले यथार्थ बताउन खोजें । उनिहरुले कुरै सुनेनन् ।
यसपछि मेरो बद्नामी सुरु भयो । धेरैले मैले उसको हत्या गर्न खोजेको बुझे । मलाई मूख देखाएर हिँड्न अप्ठ्यारो भयो ।
क्याम्पसमा मेरै जोडमा छलफल राखियो । उसले पैसा नै लिएको छैन भन्यो । पैसाको लेनदेनमा कुनै कागज गरेको थिएन । देख्नेहरुले पनि देखेको छैन भने ।
कमाएको पैसा नि सकियो । ऋण थपियो । सबैजना पैसा फिर्ता माग्न लागे । मसँग दिन केही थिएन ।
एकदिन चरिकोटमा कानुन व्यवसायी भेट्न आएँ । कानुन व्यवसायीले कुनै कागज गरेको छ भनेर सोधे । छैन, मैले जवाफ दिएँ । फेरी सोधे कारोबार गर्दा कोही साँक्षी छ । मैले उहि उत्तर दोहो¥याएँ । छैन । कुराकानीको बिट मार्दै वकिल बोले त्यसो भा’ मुद्धा कमजोर हुन्छ ।
बुझें । कानुनी बाटोबाट मेरो समस्या समाधान नहुने रैछ ।”
“यत्रो काम गर्दा कागज त गर्नुपर्ने नि ।” उसको कुरा सकिएकै थिएन । मैले विचैमा भनें ।
“सबैले त्यसै भन्छन । तपाँईले नि त्यही भन्नुभो । मान्छे राम्रै थियो । क्याम्पसमा पढाउने माष्टर । कसरी अविश्वास गर्नु र ? विश्वासको मोल मैले पैसामा भुक्तान गरें । उसले ज्यानै भुक्तान ग¥यो ।”
यसपछि उ मौन रह्यो । सायद मेरो प्रश्न पर्खियो । मलाई केही सोध्नु थिएन ।
“दाई, म धेरैबेर बस्दिन । पुलिसले खोजीरहेको हुनसक्छ । यही कोठाबाट समात्यो भने दाईलाई व्यर्थैको लफडा ।”
अरुबेला भएको भा बसौं भन्थे । आज के भनौं के भनौं । म अलमलमा परें । उसले मोबाईल अन ग¥यो । मोबाईलको टर्च बाल्यो । उठ्न लाग्यो । बस रातमा कहाँ जान्छौं । मनमा आयो मुखमा आएन ।
उसले ढोका खोल्यो । जुत्ता लगाउन निहुरियो । उठ्न लाग्दा मेरो मुखबाट अनयासै फुत्कियो “गेट तानेर निस्क है ।”
मन एकतमासको भएर आयो । मोबाईलको अर्लाम बज्न लागेपछि झसङ्ग भएँ । विहान भईसकेछ । नित्यकर्मका लागि उठें । मोबाईलमा समाचार श्रोतको एसएमएस आएछ …सिंगटी बजारमा एकजनाको हत्या ।
मर्निङ वाकपछि बजार निस्किए । चोकमा चिया खान लाग्यौं । हत्याका बारे गाँईगुई चलिरहेको थियो । सवा ७ को बिबिसि बिहानी सेवा सुन्दासुन्दै अर्को एसएमएस आयो । …हत्या आरोपीद्धारा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण ……।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.