क्षयरोग ( टि.बी.): एउटा गम्भीर सामाजिक समस्या हो

Share

Dr. Surya B. Parajuli

प्रत्यक बर्ष मार्च २४ तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ । अझैँ पनि यो रोग हाम्रो नेपाल जस्तो राष्ट्रको लागि एउटा प्रमुख जनस्वास्थ्य समस्या रुपमा रहेकोमा दुईमत छैन । तपाई, हामी सवै जानेर नजानेर यसको शिकार बनिरहेका छौ । आज हामी यस लेखमा फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं ।

परिचय
क्षयरोग संक्रामक सरुवा रोग हो र यो माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट देखा पर्ने गर्दछ । साधारण भाषामा यसलाई टि.बि. लागेको भनी चिनिने गरिन्छ । मुख्यरुपमा फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपमा घोषणा गरेको थियो।

इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए । ट्युबरक्लोसिस भन्ने शब्द भने सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ । सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कचले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो । यता पेरिसमा अल्बर्ट काल्मेटी र क्यामिली ग्युरिन द्बारा सन १९२४ मा बि. सि. जी. भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो ।

नेपालको अवस्था
क्षयरोग नेपालको एउटा मुख्य जनस्वास्थ्य समस्या हो । झन्डै ४५ प्रतिशत मानिसहरु यसबाट सन्क्रमित छन जस मध्ये ६० प्रतिशत बयस्क छन । करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् । प्रत्यक बर्ष ४०,००० जनालाई टि. बि. को संक्रमण भएकोमा २०,००० जनामा फोक्सोको सर्ने खालको टि. बि. देखिन्छ । ५००० देखि ७०००जनाको प्रत्यक बर्ष मृत्यु हुनु गरेको पाईछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिबेदन २०१२/१३ अनुसार, नेपालमा १,१८४ डटस् उपचार केन्द्र र ३,०७४ उपकेन्द्र हरु रहेका छन । नेपालले सन २०५० सम्ममा टि. बि. लाई निर्मुल गर्ने महोत्काक्षी लक्ष्य राखेको छ । जसको लागि प्रती १० लाख जनसंख्यामा १ भन्दा कम टि. बि. बिरामी हुनु पर्ने छ ।

कारणहरु
माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको कारण यो रोग सर्दछ भने एडस लागेका व्यक्तिहरु, दीर्घ रोगीहरु, मधपान तथा धुमपान बढी गर्ने व्यक्तिहरु, कूपोषित बच्चाहरु, बातावरणीय सरसफाईको अभावले झन् जोखिम बढाउछ । ब्याक्टेरियाको कारणले यो रोग लागे पनि यसका धेरै सामाजिक कारणहरु छन्/ त्यसैले यो एउटा सामाजिक स्वास्थ्य समस्या हो/ गरिबी, भोकमरी, अज्ञानता आदिका कारण यो रोगले ति व्यक्तिहरुलाई शिकार बनाईरहेको सर्वबिबिद नै छ /

रोग सर्ने तरिका
साधारण भाषामा बुझ्नुपर्दा रोगीले हाच्छँयु गर्दा हावाको माध्यमवाट किटाणु फोक्सोमा प्रवेश गर्दछन् र त्यसको ४–६ हप्तामा रोग देखा पर्दछ । तर संक्रमित सबैमा रोग देखिनु पर्छ नै भन्ने होइन।

रोगका लक्षण तथा चिन्हहरु
रोगका मुख्य लक्षणहरुमा २ हप्ता भन्दा लामो समय सम्म खोकी लागिरहनु, अत्याधिक खकार, त्यसमा पनि रगत देखिनु, तौल घट्नु आदि हुन् भने अन्य लक्षणहरुमा छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, राती पसिना धेरै आउने, थकान महशुश हुने, अरुची हुने आदि हुन्। त्यसैले भन्ने पनि गरिन्छ कि दुई हप्ते खोकी, क्षयरोग पो हो कि ?

पि.टि.बि. सस्पेक्ट भनेको के हो ?
यदि ३ हप्ता लामो समयसम्म खोकी लागिरहेमा तपाईमा क्षयरोगको सम्भावना अत्याधिक रहन्छ । त्यसैले खकार परीक्षण गराउनै पर्दछ । यसैलाई पि.टि.बि. सस्पेक्ट भनिन्छ ।

परीक्षण प्रक्रियाहरु
क. खकार जाँच (SMS प्रकिया) बिधिमा पहिलो स्याम्पल, तालिमप्राप्त स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य संस्थामानै खकार संकलन गर्ने र विरामीलाई खकार संकलन गर्ने भाडो दिएर घर पठाउने अनि दोस्रो स्याम्पल घर पठाएको भाडोमा विहानको खकार सही तरिकाले ल्याउने र तेस्रो स्याम्पल, दोश्रो स्याम्पल लिएर आँउदा फेरि स्वास्थ संस्थामानै खकार संकलन गर्ने गरिन्छ। त्यसपछि त्यस खकारको स्याम्पललाई परीक्षण गरिन्छ । यो परिक्षण सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छ। अन्य परिक्षणहरुमा ख. मन्टु (ट्युबरक्युलिन) टेष्ट बिधि ग. छातिको एक्स रे घ. रगतको परीक्षण तथा जिन एक्सपर्ट लगायतमा बिधिहरु उपलब्ध छन् ।

उपचार प्रकिया
आराम गर्ने ,पोषणयुक्त खाना खाने, मधपान र धुम्रपान नगर्ने, हरियो सागपात, फलफुल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरु सेवन गर्नु पर्दछ र लाक्षणिक उपचार जस्तो खोकीको लागि औषधी, ज्वरो र दुखाइको लागि औषधी लगायत लक्षण अनुसार उपचार गर्दै लैजानु पर्दछ। प्रमुख उपचारमा एन्टी ट्युवरकुलर उपचार (ए. टि. टि. ) डट्स विधीद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मिको प्रतक्ष्य निगरानीमा गर्ने गरिन्छ। पूर्ण उपचारनै क्षयरोगको सहि निदान पनि हो । रोगलाई घृणा गरौ तर रोगीलाई माया गरौ । अव हामी सबै तयार हुने बेला आईसकेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.